गणित शिक्षा र गणितलाई सहज बनाउन गर्नुपर्ने मुलभूत पहलहरु
गणित शिक्षा र गणितलाई सहज बनाउन गर्नुपर्ने मुलभूत पहलहरु
गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।
गणित बिषय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै एकै प्रकृतिको छ । अझ भनौ, नेपालमा जुन गणित पढाइ हुन्छ अमेरिकामा पनि त्यहि हो अथवा अन्य कुनै देश । यद्यपि बिषय सूची तल-माथि पर्न सक्ला । बिडम्बना, आज नेपालमा गणित शिक्षाको स्थिति निकै खस्किँदो र दयालाग्दो छ ।
प्रभावकारी शिक्षण बिधि नहुनु, विषय शिक्षकले गणित नपढाउनु, शिक्षकले बुझे पनि विधार्थीलाइ बुझाउने कला पर्याप्त नहुनु, माथिल्लो कक्षामा गणित विषय आफैमा व्यावहारिक बन्न नसक्नुले पनि गणित विषयमा आम विद्यार्थीको चासो नबढेको हुन् सक्ने देखिन्छ ।
घरायसीकामदेखि उच्च कार्यालयहरुमा समेत गणितको प्रयोग प्रत्यक्ष र अप्रत्यक्ष तवरले भइरहेको हुन्छ ।पसलमा तरकारी किन्दा होस् अथवा कार्यालयहरुको बर्सेनि लेखापरीक्षण गर्दा होस् गणित नहुदो हो त यो संसार कस्तो हुने थियो? हामि कल्पना गर्न पनि सक्दैनौ। बिहान उठ्दा कति बज्यो भनेर सोध्छौ, बेलुका अफिस कति बेला छुट्टी हुन्छ भन्छौ । जहाँ कति भन्ने प्रश्न उब्जन्छ त्यहाँ गणित लुकेको हुन्छ । बिडम्बना, अहिले गणितलाई अंकसंग मात्रै दाज्ने काम गरिएको छ ।
नेपालका आम विद्यार्थीमाझ् गणितलाई सहजबनाउन मूलभूत रूपमा देहायका पहलहरू गरिनुपर्छः
१. पर्याप्त मात्रामा गणित शिक्षकको व्यवस्था हुनुपर्दछ । प्राथमिक तहका गणित शिक्षकहरुमा आधुनिक
गणितको न्यूनतम ज्ञान हुनुपर्छ । माथिल्लो तहका शिक्षकहरूमा यसको गहिरो ज्ञान र समझदारी हुनु
आवश्यक छ । त्यसपछि आफूसँग भएको ज्ञान विद्यार्थीमा हस्तान्तरण गर्ने सही सीप र कौशलता पनि
हरेक शिक्षकमा हुनु आवश्यक छ । त्यस्तै शिक्षकहरूले समय–समयमा आफूलाई अद्यावधिक गर्ने तालिम
र प्रशिक्षण पनि पाउनुपर्छ ।
२. विद्यार्थीलाई गणितको अवधारणा बुझाएर सोही बमोजिमका अधिकतम सृजनशील अभ्यासहरू गराउनु
पर्छ ।
३. गणितको आधारभूत अवधारणा प्राथमिक तहमा नै सिकाउनु पर्ने भएकाले यस तहको गणित शिक्षणलाई
विशेष जोड दिइनुपर्छ ।
४. गणितको पाठ्यभार अनुसार पढाउने समय (क्रेडिट आवर) कम छ । यो समस्यालाई व्यावहारिक ढङ्गले
सम्बोधन गरिनुपर्छ ।
५. विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्ने वर्तमान मूल्याङ्कन प्रणाली अवैज्ञानिक छ । त्यसको बदलामा
अब सिकाइ उपलब्धिलाई सही तरिकाले मापन गर्ने वैज्ञानिक र व्यावहारिक मूल्याङ्कन प्रणालीको सुरुआत
गरिनुपर्छ ।
६. विद्यालयमा पठनपाठनको उचित वातावरण हुनुपर्छ र शिक्षकको कामको प्रभावकारिताका आधारमा
उनीहरूको निष्पक्ष मूल्याङ्कन गर्ने परिपाटी दह्रो र विश्वसनीय बनाउने लगायतका कामबाट शिक्षकमा उत्प्रेरणा र जाँगर भरेर आफ्नो दायित्व निर्वाह गर्न सक्षम बनाउनुपर्छ ।
नेपालमा गणितको विकास को क्रम हेर्दा एकातिर प्रशस्तै विकास र विस्तार भइसकेको पाइन्छ भने अर्कातिर अवधारणा र समस्या समाधानमा सिर्जनशीलताको पर्याप्त विकास हुन नसकेको अवस्था छ । यसर्थ, गणितको समग्र विकास का निम्ति सरकार, विश्वविद्यालय र प्राध्यापक–शिक्षक आदि सबै पक्षबाट उचित पहल हुनु आवश्यक छ । आ–आफ्नो तर्फबाट गर्न सकिने अधिकतम् प्रयत्न र पहलहरू गरिनै राख्नुपर्छ । किनभने हामी शिक्षकहरू हौं र हामीलाई समाज ले जहिले पनि आदर्शका रुपमा हेरिरहेको हुन्छ । हामीले राम्रो गर्दा समाज ले प्रेरणा पाउँछ । हामीले राम्रो गरेनौं भने समाज ले गलत दिशा लिन्छ ।
योगराज शर्मा
गणित शिक्षक
श्री राधाकृष्ण आधारभूत विद्यालय, बेनी – ०२, म्याग्दी ।
Comments
Post a Comment